राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई रोक्ने परम्परालाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्त्य गरेका छन्।
शनिबार काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा सर्वसाधारणलाई कुनै रोकतोक नगरी राष्ट्रपति पौडेल पुगेका छन्। उनी वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न जाँदा र फर्किदा सार्वजनिक सवारीसाधन, सर्वसाधारण कसैलाई रोकिएन। यसरी सवारी गरेसँगै उनले यसअघिको परम्परालाई तोडेका छन्। राष्ट्रपतिको सवारी हुँदा यसअघि सर्वसाधारणलाई रोक्ने गरिन्थ्यो । जसले गर्दा सडक जाम हुँदा आलोचना हुने गरेको थियो ।
निर्वाचित भएपछि पहिलोपल्ट कुमारी घरकुमारीको दर्शन गर्न गएका राष्ट्रपति पौडेलले प्रसादग्रहण गर्नुका साथै कुमारी घरमा चियापानसमेत गरे। यसअघि राष्ट्रप्रमुखले कुमारी घरमा चिया पिउने चलनसमेत थिएन । राष्ट्रपति पौडेलले आफू निर्वाचित हुनुअघि नै सवारी जाम नगर्ने भन्दै गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भनेर देखाउने बताए थिए।
राष्ट्रपति पौडेल वसन्तपुरस्थित कुमारी घर पुग्दा कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान वज्राचार्य, पूर्व प्रदेशसभा सदस्य राजेश शाक्यलगायतले स्वागत गरेका थिए । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किएका थिए।
यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पु¥याउने परम्परा छ ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले दिएको जानकारी अनुसार राष्ट्रपति पौडेलले सर्सावधारणलाई कुनै असर नपर्ने गरी सवारीको व्यवस्था मिलाउन सम्बन्धित सुरक्षा संयन्त्रलाई भनेको र उनको सवारीमा आम सर्वसाधारणले दुःख पाएका छैनन्।
