गठबन्धनका कारण माओवादीले धेरै फूर्ति लगाएको रायमाझी आरोप

४ चैत्र २०७९, शनिबार १९:०९

गठबन्धनले गर्दा संसद्‌मा रहेका ठूला दल सरकार बाहिर रहनु परेको एमाले सचिव टोपबहादुर रायमाझीले बताएका छन् । संसद्‌मा तेस्रो दलको सबैभन्दा बढी फूर्ति भएको टिप्पणी गरे ।

शनिबार अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमाले सचिव रायमाझीले ठूला पार्टी एकातिर छन्, गठबन्धनका कारण तेस्रो (माओवादी केन्द्र)ले धेरै फूर्ति लगाएको आरोप लगाए । उनले वर्तमान गठबन्धन धेरै समय नटिक्ने र यसले देशको विकास पनि गर्न नसक्ने दाबी गरे ।

पाँच दलीय गठबन्धन भएर घेराबन्दी गर्दा पनि लोकप्रिय मतका आधारमा पहिलो दल भएको दाबी गर्दै पछिल्लो सयम एमालेको विरुद्धमा देशी, विदेशी शक्तिकेन्द्र लागेको उनले बताए । उनले एमाले प्रतिपक्षमा भए पनि देश, जनता, लोकतन्त्र, राष्ट्रियता, विकास, समृद्धि र सुशासनको पक्षमा सधैं रहेको बताए ।

आउँदो चुनावमा संसद्‌मा ५१ प्रतिशत एमाले सांसद बनाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको रायमाझीले दाबी गरे । पार्टीलाई कार्यगत एकता, संगठनको स्थिति मजबुद, वैचारिक, राजनीतिकरुपमा बलियो एमाले बनाउन ग्रासरुट अभियान सुरु भएको उनको भनाइ छ ।

एमाले सचिव  रायमाझी अर्घाखाँचीको सांसद हुन् । उनले गत मंसिरमा सम्पन्न भएको प्रतिनिधी सभाको निर्वाचनमा कांग्रेस नेतृ पुष्पा भुसाललाई पराजित गर्दै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए ।