संक्रमणकालीन न्यायसँग सम्बन्धित संशोधन विधेयकप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।
सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिनसम्बन्धी संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
विधेयकमा द्वन्द्वको एकपक्षीयलाई मात्रै सम्बोधन गर्ने प्रयास गरेकाले आफूहरुको विरोध रहेको उनको भनाइ छ । बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको लिङ्देनले बताए ।
बैठकले संघ र प्रदेशका सांसदहरुलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए । बैठकमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको लिङ्देनको भनाइ छ ।
