गठबन्धनभित्र किन छुट्टाछुट्टै २ मोर्चा ?

४ चैत्र २०७९, शनिबार १०:०९

१० दलीय सत्तारूढ गठबन्धनभित्र छुट्टाछुट्टै २ मोर्चाको तयारी सुरू भएको छ । मुद्दा मिल्ने साना राजनीतिक दलहरू र समाजवादी धारका ठूला दलहरूले छुट्टाछुट्टै मोर्चाको तयारी गरेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), सत्ता साझेदार दलहरू नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी र (जसपा) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच समाजवादी मोर्चा बनाउने तयारी छ ।

यी दलहरूले मोर्चा बनाउने ध्येयका साथ यसअघि नै वार्ता समिति बनाइसकेका छन् । माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता समिति बनाएको छ भने जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको छ । एकीकृत समाजवादीले महासचिव डा.वेदुराम भूसालको संयोजकत्वमा वार्ता समिति बनाएको छ भने नेपाल समाजवादी पनि मोर्चामा सहभागी हुन मञ्जुर छ ।

माओवादी केन्द्रका तर्फबाट गठित वार्ता समितिका संयोजक कृष्णबहादुर महराले भने, ‘वार्ता समितिहरूले काम गरिरहेकै छन् । मोर्चा बन्ने पहिल्यैको कुरा हो, यसले चाँडै पूर्णता पाउँछ ।’

यस्तै गठबन्धनभित्रै रहेका मुद्दा मिल्ने साना दलहरूले पनि छुट्टै मोर्चाको तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति, आम जनता पार्टी (आजपा), हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीबीच छुट्टै मोर्चा बनाउने एक तहसम्मको सहमति भइसकेको नेताहरूले बताउने गरेका छन् ।

यसबारेमा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले भनेका छन्, ‘सहमतिबाटै अगाडि बढौँ भन्ने कुरा हो । अरु केही होइन, असहमतिबाट होइन सहमतिबाटै अगाडि जाँदा राष्ट्रहित हुन्छ भने त्यो राम्रो हो ।’

त्यसो त यसअघि नै लोसपा, जनमत र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति भइसकेको छ । अरु दलहरूले पनि त्यसैगरी राष्ट्रिय मुद्दाहरूमा कार्यगत एकता गर्ने राउत बताउँछन् । ‘हामीले मात्रै होइन, राष्ट्रिय मुद्दाहरूमा हामी सबैले कार्यगत एकता गर्नुपर्छ भन्ने बुझाइ हो,’ उनले भने ।