अभिभावकले के के गल्ती गरे बालबालिकाको आत्मविश्वासमा कमी आउछ ?

३ चैत्र २०७९, शुक्रबार २२:३७

अभिभावकले आफ्ना छोराछोरी संस्कारी हुनुका साथै पढाइमा राम्रो गरून् भन्ने चाहन्छन्। बच्चामा यी गुण ल्याउन आमाबाबुले हुर्काउने वेला ध्यान दिन आवश्यक छ। आमाबाबुले बच्चालाई स्मार्ट, आत्मनिर्भर र आत्मविश्वासी बनाउन धेरै प्रयास गर्छन्।

कोसिस गर्दागर्दै पनि कहिलेकाहीँ बच्चाको व्यवहार अभिभावकको सोचभन्दा धेरै फरक हुन्छ। धेरै बच्चामा आत्मविश्वासको कमी हुन्छ। बालबालिकाहरू अरू मानिसका सामु कुरा गर्न हिचकिचाउँछन्।

बालबालिकाको आत्मविश्वासमा कमी ल्याउन भूमिका खेल्ने अभिभावकका केही गल्ती यी हुन् ।

तुलना गर्ने
आमाबाबुले प्रायजसो आफ्ना बच्चालाई अन्य बच्चाहरूसँग तुलना गर्छन्। आमाबाबुले बच्चालाई अन्य बच्चाहरूसँग प्रतिस्पर्धी बनाउन यो गर्छन्। अभिभावकको यही व्यवहारले बच्चालाई कमजोर महसुस गराउन सक्छ र अर्को बच्चाप्रति ईर्ष्या, हिंसा र घृणा निम्त्याउन सक्छ।

आमाबाबुले प्रायः आफ्नो बच्चाका सामु अर्को बच्चाको प्रशंसा गर्दा पनि उसको आत्मविश्वासमा चोट पुग्न सक्छ। त्यसले अभिभावकले सकभर आफ्नो बच्चालाई अर्को बच्चासँग तुलना गर्ने बानी बसाल्नु हुँदैन।

धेरै कडाइ गर्ने
बालबालिकालाई अनुशासनमा राख्नुपर्छ तर यही अनुशासित बनाउने नाउँमा आफ्ना बालबालिका माथि अत्यधिक नियन्त्रणले बच्चाको मनमा डर उत्पन्न हुन्छ। डरका कारण बच्चाले आफ्नो मनको कुरा कसैसँग बताउन सक्दैन र उसको आत्मविश्वास घट्छ।

त्यसैले अभिभावकले बच्चालाई धेरै कडाइ गर्नु हुँदैन। सकभर बच्चाको साथी जस्तै बनेर तिनीहरूलाई सबैको बीचमा सहज महसुस गर्ने प्रयास गर्नु राम्रो हुन्छ।

प्रेरणाको कमी
बच्चाले गल्ती गर्दा गाली गरिन्छ भने राम्रो कामका लागि प्रोत्साहन दिनुपर्छ। धेरै पटक अभिभावकले बच्चालाई प्रोत्साहन नदिँदा उसको चित्त दुख्छ। राम्रो गर्न खोज्दा पनि आमाबुवाबाट प्रशंसा नपाएपछि उनी निराश हुन्छन् र उदास हुन थाल्छन्। बालबालिकालाई गाली गर्नुभन्दा प्रेरणादायी कुराबाट उनीहरूलाई सुधार्न सकिन्छ।

गाली गर्ने
गल्ती गरेका वेला बच्चालाई अत्यधिक गाली गर्नु वा पिट्नु पनि अभिभावकको गल्ती हो। आमाबाबुको यस्तो व्यवहारले बच्चामा त्रास उत्पन्न हुन्छ।

कुटपिटका कारण बच्चामा आत्मविश्वासको कमी हुन्छ। यस्तो अवस्थामा आफूले गरेको काम गलत हुन्छ भन्ने महसुस हुन्छ। यसले बालबालिकामा नैराश्य उत्पन्न हुन्छ र उनीहरूको भावनात्मक विकासमा असर गर्छ।