तिलोत्तमा नगरपालिकाले कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने

३ चैत्र २०७९, शुक्रबार २१:५८

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासी क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा ११ खेल जितेर क्वालिफायरमा नेपाली टोली छनोट हुंदा भुर्तेलले महत्वपूर्ण योगदान गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको हो ।

‘नेपाली टिम विश्वकप क्रिकेटमा छनोट भएको र त्यसमा तिलोत्तमा नगरपालिकावासी कुशलको योगदान महत्वपूर्ण रहेकाले कुशललाई प्रोत्साहनका लागि नगरपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने शुक्रबार निर्णय गरेको छ’, उपप्रमुख जगेश्वरीदेवी चौधरीले भनिन् ।

नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले सकभर कुशललाई तिलोत्तमामै ल्याएर भव्य सम्मान गर्ने नगरपालिकाको योजना रहेको तर उनको समय व्यवस्थापनले साथ दिने नदिने यकिन नभएको बताए ।