
चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने भएका छन् ।
चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो ।एक वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धपछि सीको यो पहिलो मस्को भ्रमण हुन लागेको हो । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् ।
मस्कोबाट क्रेमलिन र बेइजिङबाट चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ जारी गरेको विज्ञप्ति जारी गरेका छन् ।‘वार्ताका क्रममा रुस र चीनबीचको वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गर्ने र धेरै महत्त्वपूर्ण विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर हुनेछ ।’
चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस्तुत गर्ने प्रयास गर्दा यो भ्रमण हुन लागेको हो । मस्कोसँग बेइजिङको बढ्दो हिमचिमलाई लिएर पश्चिमी शक्तिराष्ट्रहरू सशंकीत भएका छन् ।
