नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले गरे यस्तो आग्रह

२ चैत्र २०७९, बिहीबार २२:४५

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लुइस (डीएलएस) पद्दतिअनुसार नौ रनको जित दर्ता गर्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाएपछि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाल पनि आईसीसीको पूर्ण सदस्य बन्न योग्य रहेको प्रतिक्रिया दिएका छन् ।

नेपालले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा यूएईलाई हराउदै अंक तालिकाको शीर्ष तीनमा स्थान पक्का गर्यो । यसै जितपछि नेपालले जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान पक्का गर्यो ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देसाईले नेपालका छिमेकी राष्ट्रहरुलाई क्रिकेट विकासमा नेपाललाई सहयोग गर्न आग्रह पनि गरे ।

“आईसीसीको पूर्ण सदस्य रहेका नेपालका छिमेकी देशहरुलाई यो देशप्रति पनि ध्यान दिन आग्रह गर्न चाहन्छु । मलाई लाग्छ नेपाल पनि यसका वरपर रहेका देशजस्तै आईसीसीको पूर्ण सदस्य बन्न योग्य छ । म उक्त देशहरुको नाम लिन चाहन्नँ,” देसाईले भने, “उनीहरुले आफ्नो क्रिकेट यात्रामा लामो कथा बुनेका छन् । र, अहिले नेपालले पनि आफ्नो कथा बुन्दै छ । यो टिमलाई सहयोगको आवश्यकता छ । छिमेकी देशहरुले दुईदेशीय शृंखला, युवा खेलाडीलाई प्रशिक्षण दिन सक्छन्, जसले विश्व क्रिकेटमा अरु देशहरुको विकास हुन सक्छ । विश्व क्रिकेटलाई धेरै देशहरुको आवश्यकता छ ।”

देसाईले समर्थकहरुलाई एक दिनको नतिजाले निराश नभएर सधैँ टिमलाई साथ दिन आग्रह गरे ।

“यो टिमले सिक्दै छ । कुनै दिन नतिजा आशाअनुरुपको नआउन पनि सक्छ । तर, टिमलाई सहयोग गरिराख्नु होला । किनकि, उनीहरुले कठिन मेहनत गरिहेका छन् । यी कुराहरु मैले देखेको छु । उनीहरु नयाँ कुरा सिक्नका लागि कठिन मेहनत गरिरहेका छन् । उनीहरु सिक्न चाहन्छन् । उनीहरुमा सिकाइको ठूलो भोक छ । र, यो टिम पक्कै पनि माथि उठ्नेछ,” देसाईले भने ।