नेपाल विश्वकप छनोट हुँदा चन्दको गृहजिल्लामा दीपावली

२ चैत्र २०७९, बिहीबार २२:०८

नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाएको खुसीयालीमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको गृहजिल्ला बैतडीमा दीपावली गरिएको छ ।

आईसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा संयुक्त अरब एमिरेट्स (युएई) लाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाएको हो ।

विश्वकप छनौटमा पुग्न सफल भएको खुसीयालीमा बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडौंमा बिहीबार साँझ दीपावली र रयाली निकालिएको छ ।

निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजनामा गरिएको दीपावली र रयालीमा दशरथन्द नगरपालिका २ का वडाअध्यक्ष सुर्य बोहरा,नेपाली कांग्रेस प्रदेश क्षेत्र नम्बर ख का सचिव धनबहादुर क्षेत्री, बैतडी जिल्ला क्रिकेट संघका सदस्य वीरसिंह बोहरा, दशरथचन्द नगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्द, एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहरा, कोषाध्यक्ष जयबहादुर बोहरा, एकेडेमीका सदस्य भुवन बोहरा,निंग्लाशैनी क्रिकेट क्लबका व्यवस्थापक रोशन बोहरा, निंग्लाशैनी क्रिकेट क्लब प्रशिक्षक चक्र बोहरा, समाजसेवी गोल्डेन बोहरालगायत अन्य क्रिकेट समर्थकको उपस्थिती रहेको थियो ।

यस्तै (भोलि) शुक्रबार सदरमुकाम क्षेत्रमा र्याली समेत निकालिने जनाएको छ । दीपावली कार्यक्रममा बोल्दै वडाअध्यक्ष बोहराले बैतडी जिल्लाकै व्यक्ति क्यानको नेतृत्वमा रहेका बेला क्रिकेट टिम विश्वकप छनौटमा पुग्नु खुसीको कुरा भएकोले दीपावली गरिएको बताए। नेपाली टोलीलाई अगामी खेलको शुभकामना पनि दिईएको छ ।

लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा युएईलाई हराउँदै शीर्ष तीन नेपाल अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । नेपालले लिग–२ ३६ खेलबाट ४० अंक बटुल्दै शीर्ष तीनमा स्थान बनायो । विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ । जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ ।

छनोटमा कुल १० टोली हुनेछन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्याण्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।