महोत्तरीको सम्सी नाकामा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) का एक जवानले उक्त नाकामा नेपाली युवकलाई कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । एसएसबीले सम्सी गाउँपालिका–७ का सन्तोकुमार साहलाई कुटपिट गरेको स्थानीयले बताएका छन् ।
बुधबार अपराह्न साढे ५ बजेतिर नेपाली सीमा क्षेत्रबाट भारत प्रवेश गर्न खोज्दा नेपाली नागरिकताको प्रमाणपत्र खोजेको विषयमा विवाद हुँदा साहलाई एसएसबीले कुटपिट गरेको स्थानीयको भनाइ छ ।
नेपाल तर्फको बाटो खराब भएकाले दशगजा क्षेत्रका नेपालीहरु भारतीय सडक हुँदै आउ–जाउ गरिरहन्छन् । सीमा क्षेत्रमा एसएसबीले पटक–पटक दुःख दिने गरेको गुनासो स्थानीयको छ ।
एसएसबीका जवानले बुधबार साहलाई दुर्व्यवहार र कुटपिट गरेको भन्दै सीमा क्षेत्रका नेपालीहरुले सम्सी नाकामा साँझ विरोध प्रदर्शन गरेका हुन् । सशस्त्र प्रहरी गणका अधिकृतले यो विषयमा दुवै पक्ष बसेर छलफल गर्ने बताएपछि स्थानीयले प्रदर्शन रोकेका थिए ।
यो विषयमा दुवै पक्षबीच आज छलफल हुने सशस्त्र प्रहरी गण सम्सीका इन्सपेक्टर जयराम बस्नेतले बताए । पटक–पटक भारतीय एसएसबीका जवानबाट कुटपिट र दुर्व्यवहारको घटना हुने गरेको स्थानीयको गुनासो रहेकाले उक्त विषयमा अब हुने दुई देशको सुरक्षा बैठकमा समेत छलफल गरिने इन्सपेक्टर बस्नेतको भनाइ छ
