नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भागबण्डा मिलाउने कला भएको कांग्रेसका नेता डा. शेखर कोइरालाले बताए ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि उनले सञ्चारकर्मीहरूसँग भने, ‘गठबन्धनमा भागबण्डा मिलाउने कला हाम्रो सभापतिजी र प्रचण्डजीमा पनि छ । त्यही भएर अहिलेसम्म उहाँहरू टिकिराख्नुभएको छ । कलाले गर्दा नै हुने न हो । सबै दलहरूमा ‘गिभ एन्ड टेक’ हुन्छ ।’
विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने भन्दै उनले वर्तमान सरकार पूरै कार्यकालसम्म रहने विश्वास गर्दै नेता कोइरालाले भने, ‘वर्तमान गठबन्धनको नेतृत्वको सरकार ढाल्ने खेलमा पूरा कार्यकालभरी नै कोही लाग्दैन । प्रचण्ड नेतृत्वको सरकार ढालेर बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउने खेलमा कांग्रेस पनि लाग्दैन । स्थिरताका लागि सरकारलाई पूरा काम गर्न दिने भनेर नै गठबन्धन बनाएको हो ।’
