आईसीसी विश्वकप लिग-२ अन्तर्गत चैत २ गते हुने नेपाल र यूएईबीचको खेलका सबै टिकट बिक्री भएका छन्।
लिग(२ को अन्तिम खेलमा नेपाल र यूएई प्रतिस्पर्धा गर्दै छन्। यो खेल जितेमा नेपालले विश्वकप क्वालिफायर प्रतियोगिता खेल्न पाउनेछ।
नेपाल र यूएईबीचको खेल चैत २ गते बिहान ९स्३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। अन्तिम खेलका सबै टिकट चैत १ गते नै बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
बिहीबारको खेलमा दर्शकको संख्या अत्यधिक हुने भएकाले बालबालिका र वृद्धवृद्धालाई सुरक्षित तरिकाले घरमै प्रत्यक्ष प्रसारण हेर्न क्यानले आग्रह गरेको छ। यससँगै त्रिवि मैदानमा आउने दर्शकलाई पनि संयमित तरिकाले खेल हेर्न क्यानले अपील गरेको छ।
नेपाल, यूएई र पपुवा न्युगिनीबीच जारी त्रिदेशीय श्रृंखला अन्तर्गतका खेलमा क्यानले टिकटको मूल्य १५० रुपैयाँ तोकेको थियो। नेपाल र यूएईबीच हुने खेलमा बिक्री भएका सबै टिकटबाट आउने रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।
