ताइवानलाई जतिबेला पनि आक्रमण गरेर आफ्नो नियन्त्रणमा ल्याउन सक्ने चिनियाँ राष्ट्रपति सी चिनफिङले बताउने गरेका छन् ।
ताइवानले भने चिनियाँ खतरासँग जुध्न भनेर अमेरिकालगायतका देशबाट अत्याधुनिक हतियारहरू खरिद गरिरहेको छ । चीन र ताइवानबीच जतिबेला पनि युद्ध हुन सक्ने अनुमानका बीच ताइवानका एक सेना बेपत्ता छन् । सीएनएनका अनुसार ती बेपत्ता भएका भनिएका ताइवानका सेना चीनमा फेला परेको ताइवान सरकारले जनाएको छ ।
चेन थरका ती सेना चीनमा देखा परेसँगै उनले महत्त्वपूर्ण सूचनाहरू चुहाउन सक्ने भन्दै ताइवानले आफ्नो सैन्य रणनीतिमा परिवर्तन ल्याउन सक्ने अनुमान छ । यद्यपि, ती सेना भगौडा हुन् कि हैनन्, खुलाइएको छैन ।
चेन अर्डेन टापुमा तैनाथ थिए । यतिबेला उनी ठ्याक्कै चीनको कुन स्थानमा छन् भनेर विशेष मानिसहरूलाई खटाइएको बताइएको छ । अर्डेन ताइपेई नियन्त्रित किनमेन टापुहरूको भाग हो, जुन दक्षिणपूर्वी फुजियान प्रान्तको चिनियाँ बन्दरगाह शहर सियामेनबाट ५ किलोमिटरभन्दा कम दूरीमा अवस्थित छ ।
सन् १९४९ देखि १९८९ को बीचमा २० सेनाहरू ताइवानबाट भागेर मुख्यक्षेत्र चीन पुगेका थिए । सन् १९८१ मा चीनले ताइवान छाडेर चीन भागेका एक हवाई सेनाका मेजरलाई ३ लाख ७० हजार अमेरिकी डलर पुरस्कार दिएको थियो ।
चीनले ताइवानलाई आफूबाट अलग्गिएको क्षेत्र ठान्छ र ताइवान जहिले भए पनि चीनमै विलय हुने बेइजिङको विश्वास छ ।
