अभिनेत्री रेखा थापासँग फिल्म खेल्ने पाउनु सपनाजस्तो लागिरहेको पूजा शर्माले बताएकी छिन् ।
रेखा फिल्मसको ब्यानरमा निर्माण हुने आगामी फिल्ममा पूजा शर्मा अनुबन्धित भएकी छिन् । ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखा, पूजासँगै अन्य कलाकारहरूको अभिनय रहनेछ ।
फिल्ममा अनुबन्धित भएसँगै पूजाले फेसबुकमा खुशी सेयर गर्दै आफ्नो प्रिय अभिनेत्रीसँग पर्दा सेयर गर्न पाउँदा हर्षित रहेको बताएकी छिन् । उनले रेखाको अभिनयबाट प्रभावित भएर आफू फिल्म क्षेत्रमा आएको उल्लेख गर्दै भनेकी छिन्, ‘रेखा दिदीको साथमा नयाँ फिल्ममा काम गर्दै गर्दा धेरै कुरा सिक्नेछु भन्ने लागेको छ ।’
उनले निर्देशक देउजाको निर्देशनको मात्र नभइ व्यवहारले समेत आफूलाई प्रभावित बनाएको बताएकी छिन् । ‘प्रिय, ज्ञानेन्द्र दाइको निर्देशनमा रेखा दिदीसँग एउटै पर्दामा देखिनु मेरा लागि कही कतै सपना नै हो कि जस्तो पनि लाग्दैछ’ – पूजाले भनेकी छिन् ।
यो फिल्म आफ्ना लागि सधैं विशेष हुने उनले बताएकी छिन् ।आगामी वैशाखको पहिलो साताबाट फिल्मको छायाँकन सुरु हुने तयारी छ ।
