रास्वपा पनि सरकारमा सहभागी बन्ने तयारीमा

३० फाल्गुन २०७९, मंगलवार १०:०६

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारमा सहभागि हुने तयारी थालेको चर्चा चलेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा राजनीतिक दलहरूसँग छलफल थालिरहँदा रास्वपाले पनि सरकारमा सहभागिता जनाउने संकेत दिएको हो ।

प्रधानमन्त्री प्रचण्डले अनौपचारिक रूपमा दलहरूसँग मन्त्रिपरिषद् र विश्वासको मत लिने विषयमा छलफल थालेको बताइन्छ । आगामी चैत ३ गते उपराष्ट्रपति निर्वाचन सम्पन्न भए लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन तथा मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल थालेको बताइएको हो ।

राष्ट्रपति निर्वाचनमा सहमति नजुटेपछि प्रचण्डले नेतृत्वको सरकारबाट नेकपा एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको थियो भने सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि आएको सर्वोच्चको आदेशसंगै रास्वपा पनि यो सरकारबाट बाहिरिएको थियो । अहिले सरकारमा जनमत पार्टीका एक मन्त्रीसहित पाँच जना मन्त्री छन् भने एक जना राज्यमन्त्री छन् ।

रास्वपाका सभापति लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै सरकारबाट बाहिरिएको रास्वपालाई सरकारमा सहभागि गराउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएको रास्वपालाई प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले समेत विभिन्न भेटमा सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

रास्वपाले पनि सरकारमा सहभागी हुन आफूले मागेको मन्त्रालय दिनुपर्ने प्रतिक्रिया दिएको बालुवाटार स्रोतले पुष्टि गरेको छ । सरकार बाहिर रहेको रास्वपाले राष्ट्रपति निर्वाचनमा समेत सत्ता गठबन्धनकै उम्मेदवारलाई मत दिएको थियो । उपराष्ट्रपति निर्वाचनमा पनि रास्वपाले गठबन्धनकै उम्मेदवारलाई सहयोग गर्ने निश्चित नै छ ।