नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शपथ ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले शपथ ग्रहणसंगै देशले नयाँ राष्ट्रपति पाएको छ। पौडेल गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिको कार्यभार हुन्। राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि उनले कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिए।
शपथ लिने समारोहको टेलिभिजनमा लाइभ हेरिरहेका दर्शकले भने रमाइलो दृश्य हेर्न पाए। सबैभन्दा पहिला त शपथ शपथ जस्तो नै भएन। राष्ट्रपतिको शपथमा जसले शपथ दिलाउने हो, उसले वाक्य पढ्दै जाने अनि शपथ लिनेले त्यसलाई दोहोर्याउँदै जाने हो।
तर राष्ट्रपति पौडेलले भने आफै खुरुखुरु पढ्दै गए। कामु प्रधान न्यायाधीशले ‘म’ भनेपछि राष्ट्रपति पौडेलले म रामचन्द्र पौडेल भने। कामु प्रधान न्यायाधीशले ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही’ भन्दै गर्दा सँगसँगै राष्ट्रपति पौडेलले पनि भने।
कामु प्रधान न्यायाधीशले नभन्दै राष्ट्रपति पौडेल अघि बढ्दै गए, ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु, ईश्वरको नाममा शपथ लिन्छु कि..’ त्यसपछि माइक मिलाइन्छ। राष्ट्रपति पौडेलले फेरि ‘नेपालको.. ’ के भन्दै थिए एक जना सुरक्षाकर्मी आएर ‘प्रधान न्यायाधीशज्युले बोलेपछि मात्र हजुरले बोलिदिनुस्, उहाँले भनेपछि मात्र भनिदिनुस्’ भन्दै गरेको सुनिन्छ।
अनि कामु प्रधान न्यायाधीशको फेरि आवाज सुनिन्छ, ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही’ राष्ट्रपतिले फेरि सुरुबाटै ‘म रामचन्द्र पौडेल मुलुक र जनता प्रति पूर्ण वफादार रही’ भन्छन्।
कामु प्रधान न्यायाधीश भन्छन्, ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु’ राष्ट्रपति भन्छन्, सत्य निष्ठापूर्वक प्रतिक्षा गर्छु’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिज्ञा भन्नुपर्ने ठाउँमा अर्थै फरक लाग्ने गरी प्रतिक्षा गर्र्छुु भनेका छन् ।
हुन पनि पौडेलले लामो प्रतिक्षा गर्नुपरेकै हो। मुलुकको कार्यकारी प्रमुख हुने उनको धोको थियो। त्यसका लागि लामो प्रतिक्षा गरे। प्रधानमन्त्री बन्नका लागि १७ पटकसम्म प्रतिस्पर्धा गर्दा पनि हुन नसकेर प्रतिक्षा गरेकै हुन्।
