राष्ट्रपति चुनावमा अन्तर्घातको आशंका ओलीप्रति पदाधिकारी नै असन्तुष्ट

२९ फाल्गुन २०७९, सोमबार १६:३६

“राष्ट्रपति चुनावमा हामीले धेरै ठूलो संघर्ष गर्‍यौँ । सारा संसार हामीलाई हराउन लागे । यो देखिएजस्तो एकदम सामान्य भएजस्तो लागेन । यसको सबै पक्षको एकदमै राम्रो समीक्षा गर्नुपर्छ,” उपराष्ट्रपतिको उमेदवार चयन गर्न बसेको एमाले पदाधिकारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त अभिव्यक्ति दिएका हुन् ।

एमालेका एक पदाधिकारीले दिएको जानकारीअनुसार ओलीको आशंका पार्टीबाहिरबाट केही भोट प्राप्त भएको भए पनि एमालेभित्रबाटै ‘अन्तर्घात’ भएको हुनसक्नेतर्फ संकेत थियो ।

राष्ट्रपति निर्वाचनमा पार्टीसँग भएको भन्दा संघीय संसद्तर्फ एक–दुई भोट बढी आएको र प्रदेशमा पनि चार भोट बदर भएकोले अरु पार्टीका केही भोट सुवासचन्द्र नेम्वाङलाई प्राप्त भएको र आफ्ना पनि केही भोट ‘क्रस’ भएर रामचन्द्र पौडेललाई गएको एमालेको आशंका छ । “त्यसैले अध्यक्षले साङ्गोपाङ्ग समीक्षा गर्नुपर्छ भन्नुभएको हो,” ती पदाधिकारीले भने ।
एक्लिएकोमा असन्तुष्टि
राष्ट्रपति निर्वाचनपछि एमाले संसदीय चुनावभन्दा अगाडिको अवस्थामा भन्दा पनि एक्लिन पुगेको छ । अध्यक्ष ओलीको अनुमानअनुसार, केही भोट ‘क्रस’ भएकै भए पनि कोही पनि पार्टी एमालेको पक्षमा नखुलेपछि एक्लिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले समेत एमालेलाई छाडेका छन् ।

गत चुनावमा मधेश प्रदेशका १७ सिटमा एमालेसँग तालमेल गरेर चुनाव लडेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०ले पनि एमालेलाई साथ दिएको छैन ।

“रास्वपाका अध्यक्ष रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतले गरेको आदेशविरुद्ध अध्यक्ष ओलीले संसद्मै बोल्नुभो । माओवादीको एमालेसँग सम्बन्ध बिग्रनुमा एउटा कारण त्यसलाई पनि देखायो,” ती पदाधिकारीले भने, “तर उहाँले राष्ट्रपति निर्वाचनमा रास्वपाले नै एमाले उमेदवारलाई समर्थन गरेन ।”

चुनावअघिदेखि एमालेसँग तालमेलमा रहेको राप्रपाले पनि एमालेको साथ छाडेको छ । राप्रपाभित्र एमालेलाई साथ दिनुपर्छ भन्ने अध्यक्ष राजेन्द्र लिङ्देनको मत कमजोर भएपछि सर्वसम्मतिमा कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।

गत चुनावमा एमालेसँग तालमेल गरेको जसपाले पनि साथ छाडिदिएको छ । यी तीन दलको साथ ओलीले कायम राख्न सफल भएको भए परिणाम नै फरक हुनसक्ने अनुमान एमालेको थियो ।

“धेरै ठूल्ठूला प्रतिबद्धता थिए तर पहिलेको गठबन्धन नटिकेपछि परिणाम नआउने अवस्थामा अरु दलका सांसदले जोखिम मोल्ने कुरै भएन,” एमालेका अर्का पदाधिकारीले भने ।

प्रचण्डलाई प्रधानमन्त्री बनाएकै बेला राष्ट्रपतिमा एमालेका सुवास नेम्वाङलाई बनाउने भनेर लिखित सहमति नगर्नु नै हारको कारण भएको एमाले नेताहरू बताउँछन् तर औपचारिक रूपमा बोल्न भने कोही पनि तयार हुँदैनन् । त्यसो त एमाले एक्लिएको भन्ने पनि कसैले नाम उल्लेख गर्ने गरी स्वीकार गर्दैनन् ।

सभामुखमा पृथ्वी सुब्बा गुरूङ वा छविलाल विश्वकर्मालाई नदिएर आफ्ना विश्वासपात्र देवराज घिमिरेलाई अघि सारेदेखिको असन्तोष एमालेभित्र गुम्सिएर बसेको छ ।

राष्ट्रपति पनि जित्ने अवस्था भएको भए गुरु बराल वा डोरमणि पौडेललाई अघि सार्ने अवस्थामा ओली रहेको एक पदाधिकारीले बाह्रखरीसँगको कुराकानीमा बताए ।

उनका अनुसार यिनै नाममा ओलीले प्रचण्डसँग दुईदिनसम्म छलफल गरेर मनाउने कोसिस गरेपछि ओली– दाहाल सम्बन्ध झनै बिग्रिएको भन्ने असन्तोषसमेत एमालेभित्र गुम्सिएर बसेको छ ।