गगन थापा वर्तमान सरकारमा सहभागी नहुने

२९ फाल्गुन २०७९, सोमबार ०७:३७

वर्तमान सरकारमा आफू सहभागी नहुने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीबाट जाने मन्त्री र सरकारलाई सफल बनाउन लाग्ने तर आफैं मन्त्री भने नहुने बताएका हुन् ।

आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए । सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने समेत थापाले बताए । उनले भने, ‘म अहिले सरकारमा मन्त्री बन्ने भन्ने सोचेकै छैन र जान्नँ पनि । तर, आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्री र आफ्नो दल सहभागी सरकारलाई कसरी सफल बनाउने भन्ने मेरो ध्येय हुनेछ ।’

उनले सरकारसँग ५ वर्षमा जनताको भरोसा रहन्छ कि रहँदैन भन्ने सोचेर काम गर्नुपर्नेमा जोड दिँदै भने, ‘सरकार कति दिन टिक्यो भन्ने आधार र उसको कामको आधारमा सरकारको सफलताको मापन हुन्छ र त्यसै गरी हेरिनुपर्छ ।’

सरकारले परिणाम दिन सकेन भने ५ वर्षको समय खेर जाने उनको भनाइ छ । महामन्त्री थापाले राजनीतिक दलहरू खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम नपाल्न पनि सरकारलाई आग्रह गरे ।