सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)की प्रमिला यादवले पनि उपराष्ट्रपतिको लागि उम्मेदवारी दर्ता गराएकी छन्।
शनिबार दिउँसो संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रिय सभा सदस्य समेत रहेकी यादवले उपराष्ट्रपतिको लागि उम्मेदवारी दर्ता गराएकी हुन्।
रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव प्रस्तावक छन्। अनिता देवकोटा, सीता गुरूङ, बिरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ भने समर्थक छन्।
जसपाकै सांसद रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराइसकेका छन्।शनिबार बिहान बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले तीन जनालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। जसपाकै दुई जना उम्मेदवार र जनमत पार्टीकी ममता झालाई पनि उम्मेदवार बनाउने निर्णय गरेको थियो।
यसबारे आइतबार पुनः बैठक बसेर साझा उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्ने तयारी गठबन्धनको छ।प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन्।
