जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धिहरुलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा लगाइएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बताएका छन् ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको शुक्रबार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले बताए ।
प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरु तयार रहेको उनले बताए । उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृतिसँग सम्बन्धित रहेको उल्लेख गरे । महासचिव विप्लवले सो मुद्दालाई आफूहरुले अस्वीकार गर्ने बताए ।
“जनयुद्धलाई अपराधीकरण गर्ने र जनयुद्धका उपलब्धिहरुलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा पनि लड्छ । नेपाल कम्युनिष्ट पार्टी लड्छ । र, त्यसको कुनै पनि जवाफ दिन हामी तयार छौँ । यो जनयुद्धमाथिको आक्रमण हो,” उनले भने, “परिवर्तनमाथिको आक्रमण हो । भएको सीमित उपलब्धिमाथिको पनि आक्रमण हो ।”
महासचिव चन्दले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरु त्यसको प्रतिरोधमा उत्रेको बताए । उनले माओवादी घटकहरु एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको बताए ।
