नेपाली दुई चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ गत शुक्रबार संगै रिलिज भएका चलचित्र हुन् ।
एउटै मितिमा संगै रिलिज भएको ‘छक्का पञ्जा–४’ ले नेपाली बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ भने अर्काे सँगै रिलिज भएको चलचित्र ‘छड्के–२’को अवस्था भने ‘विजोग’ छ । पाएका अधिकांश शो क्यान्सिल भए पछि चलचित्र बक्सअफिसमा कमजोर प्रमाणित भएको छ ।
“सिनेमा ध्वस्त भयो । पाएको शो पनि ८० प्रतिशतभन्दा माथि क्यान्सिल भए,” वितरक सुनील मानन्धर भन्छन्, “मैले आजसम्म वितरण गरेका कुनै पनि सिनेमाको यस्तो दयनीय अवस्था देखेको थिइनँ ।”
सिनेमा राम्रो नहुनु नै नचल्नुको मुख्य कारण भएको उनी बताउँछन् । अरूको फिडब्याक सुनेरै आफूले आजसम्म आफैँले वितरण गरेको चलचित्र ‘छड्के–२’ हेर्न नसकेको उनी सुनाउँछन् ।
“चलचित्रको मेकिङ नै झुर भयो । पोस्टरदेखि नै सिनेमा बिग्रियो । ट्रेलर पनि राम्रो भएन,” सुनील अगाडि थप्छन्, “चलचित्रमा कथा नै भएन । जे पायो त्यही सिनेमा बनाएर कसरी चल्थ्यो र ?”
करिब तीन करोडमा बनेको ‘छड्के–२’मा आफ्नो डेढ करोड रुपैयाँ डुबेको उनले सुनाए । “बलिउडको जस्तो अवस्था भए यहाँ भागाभागको अवस्था आउने थियो । धन्न हाम्रोमा त्यस्तो अवस्था छैन,” सुनील भन्छन् । बलिउडका ठूला व्यानरले आफ्नो सिनेमा चलेन भने वितरकलाई लिइसकेको पैसा पनि फिर्ता गर्छन् ।
