राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन पाँच वर्षसम्म टिक्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दाबी गरेका छन् । नेकपा एमालेलाई पाँच वर्षसम्म छकछक नगरी बस्न आग्रह गर्दै उनले गठबन्धन नटुट्ने दाबी गरेका छन् ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा आयोजित संयुक्त गठबन्धनका तर्फबाट बागमती प्रदेशका प्रदेश सभा सदस्यहरुका लागि राजधानीको नयाँ बानेश्वरमा गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन पाँच वर्षसम्मै टिक्ने दाबी गर्दै एमालेलाई छकछक नगर्न भनेका हुन् ।
उनले भने, ‘गठबन्धनको बैठकमा नेपाली कांग्रेसको तर्फबाट म पनि थिएँ । गठबनधन पाँच वर्ष जान्छ । एमालेले छकछक नगरे हुन्छ ।’
उनले गठबन्धन टिक्दैन कि र सरकार ढाल्ने षड्यन्त्र हुन्छ कि भन्ने आशंका मनमा नपाल्नसमेत आग्रह गरेका छन् । उनले यसलाई थप स्पष्ट पार्दै भने, ‘प्रचण्डलाई प्रधानमन्त्री हुन मात्र भएको भए त एमालेले पाँच वर्ष दिन्छु भनेकै थियो । एमालेले माधव नेपाललाई पनि राष्ट्रपति दिन्छु भनेकै थियो । तसर्थ यो गठबन्धन पदका लागिमात्रै भएको हैन एमालेको तानाशाही प्रवृत्तिविरुद्ध भएको हो ।’
कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले अहिले गठबन्धन आवश्यक भएको उल्लेख गर्दै एमालेको तानाशाह प्रवृत्ति अन्त्य गर्न पनि गठबन्धन जरुरी रहेको बताए ।
