ठूला नेता नआउँदा संसदमै सञ्चारमाध्यम शून्य शून्य हुन्छ: सभामुख

१९ फाल्गुन २०७९, शुक्रबार १४:३५

महिलाहरूको सहभागिता र सक्रियताअनुसार सञ्चार माध्यमले स्थान नदिएको र प्रचार गर्नसमेत नखोजेको सभामुख देवराज घिमिरेले बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजित ‘मिडियामा महिलाका विचार’ विषयक गोष्ठीमा बाल्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन्।

सञ्चारमाध्यमहरूले ठूला नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको भन्दै सभामुख घिमिरेले संसद र अन्य संघसंस्थामा पनि महिलाको सक्रियता र सहभागिता बढिरहेको भए पनि सञ्चारमाध्यमले सो अनुसार प्रचार(प्रसार नगरेको आरोप लगाए।

उनले संसदमा समेत खास खास नेताहरू बोल्ने दिन छ भने मात्रै मिडियाहरूको उपस्थिति देखिने गरेको गुनासोसमेत गरे।‘ठूला नेता नआउँदा संसदमै सञ्चारमाध्यम शून्य–शून्य हुन्छ’ उनले भने–‘मिडियाहरूले कन्टेन नहेरेर चर्चामा रहेका विषय र नेताहरूको प्रचारमा मात्रै जाने गरेका छन्।’

उनले सञ्चारमाध्यमहरूले नेता र शीर्षकमा केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने धारणासमेत राखे । महिलाको सहभागिता र सक्रियता अनुसारको प्रचार हुनुपर्नेमा उनको जोड थियो।

‘संसदभित्र पनि महिलाको सहभागिता राम्रै छ। सक्षमता पनि छ, सक्रियता पनि छ। तर महिलाको सहभागिता र सक्रियताअनुसार मिडियाले प्रचार गर्न सकेनन्’ उनले भने–‘म सभामुख भएर आएपछिका बैठकहरूमा पनि उहाँहरूको सहभागिता राम्रो छ । तर, त्यो खालको प्रचार छैन।’

उनले विगतमा रोकिएको मिडियासम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने पनि बताए। उनले सञ्चारमाध्यमहरूले नेता र शीर्षकमा केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने पनि बताए।