नेपाली फिल्म इतिहासमा ‘छड्के २’ लाई दुईपटक सेन्सर, केन्द्रीय चलचित्र जाँच समितिको अध्यक्षमा सुवेदी नियुक्त

१८ फाल्गुन २०७९, बिहीबार १७:४९

केन्द्रीय चलचित्र जाँच समितिको अध्यक्षमा सहसचिव नेत्रप्रसाद सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियुक्त गरेको छ ।

यसअघिका अध्यक्ष सेवन्तक पोखरेल भन्सार विभागको उपमहानिर्देशकमा सरुवा भएपछि सुवेदीलाई सेन्सर बोर्डको जिम्मा दिइएको हो । उनी मन्त्रालयका प्रवक्ता समेत बनेका छन् ।

अध्यक्षको भूमिकामा आएपछि सुवेदीले दुई सातायता फिल्म सेन्सर पनि गरिरहेका छन् । सेन्सर बोर्डका पूर्वअध्यक्ष पोखरेल एक महिनाअघि नै भन्सार विभागमा सरुवा भएका थिए । खासगरी ‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डको विवादलाई साम्य पार्न पोखरेलले सहजकर्ताको भूमिका खेलेका थिए ।

सेन्सर बोर्डमा मन्त्रालयका सहसचिव अध्यक्ष हुने अभ्यास छ । सेन्सर बोर्डका अध्यक्षलाई नै मन्त्रालयको प्रवक्ता समेत तोकिने गरिएको छ ।यस्तै नेपाली फिल्म जाँचको इतिहासमा फिल्म ‘छड्के २’लाई दुईपटक सेन्सर गरिएको छ । सेन्सर बोर्डका कर्मचारी खेमराज जोशीका अनुसार ३० प्रतिशत सेन्सर गर्दा फिल्मको लम्बाइ छोटिएर १ घण्टा ३० मिनेट ५५ सेकेण्डमा सीमित भएको छ । ‘नेपाली समाज अनुकूलका दृश्य नभएकाले ३० प्रतिशत सेन्सर गर्नुपरेको छ । त्यसपछि निर्माताले नयाँ फिल्म ल्याउनुभयो र हामीले पीजी सर्टिफिकेट दियौं,’ उनले भने ।