रवि लामिछानेको राहदानीको विषयमा प्रचण्ड र देउवाले के सहयोग गर्लान् त ?

१८ फाल्गुन २०७९, बिहीबार १५:४४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग राहदानीको विषयमा छलफल गरिरहेको स्रोत बताएको छ ।

शनिबार राष्ट्रपतिका उम्मेदवारसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लामिछानेलाई भेटेर भोट मागेका थिए । लामिछानेले पौडेललाई सकारात्मक जवाफ दिएका थिए । सोही दिन कांग्रेस सभापति देउवाले लामिछानेलाई फोन गरेका थिए । सरकारबाट समर्थन फिर्ता नलिएको उल्लेख गर्दै लामिछानेले मिलेर जान आफू तयार भएको देउवालाई बताएका थिए ।

लामिछानेले राहदानी मुद्दा र उपनिर्वाचनबारे पनि देउवासँग कुराकानी गरेको कांग्रेस नेताहरू बताएका छन् । यस विषयमा लामिछानेका अलावा रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले पनि कांग्रेस नेताहरूसँग संवाद गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचनअघि लामिछानेले देउवालाई भेटेर कुराकानी गर्न खोजिरहेको स्रोतले बताएको छ । यस्तै प्रधानमन्त्री प्रचण्ड पनि रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा सकारात्मक देखिन्छन् ।

पुरानो गठबन्धन ब्युउँताउने तयारीमा रहेका प्रचण्डसँग फागुन ८ मा लामिछानेले भेटवार्ता गरेका थिए । त्यसपछि पनि उनी प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमै छन् ।

प्रचण्डसँगको कुराकानीमा लामिछानेले राहदानी मुद्दालाई केन्द्रमा राख्ने गरेको बालुवाटार स्रोत बताएको छ । ‘रविजीलाई आफ्नो मुद्दाको सबैभन्दा ठुलो चासो छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । कहिले आफै र कहिले आफ्नो विश्वासपात्र मार्फत उनले सहयोग मागिराखेको स्रोतको दाबी छ ।