राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले आरोप लगाएकी छन् ।
बिहीबार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएकी हुन् । नेकपा एमालेले लगेको विधेयक पास गर्ने तर अन्य पार्टीहरुले लगेको विधेयक पास नगर्ने गतिविधिहरुका कारण राष्ट्रपति एमालेको मात्रै भएको उनले बताइन् ।
उनले नागरिकता विधेयक राष्ट्रपतिले संसद्बार दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको दाबी गरिन् । “नागरिकता विधेयक दुई पटक लैजाँदा समेत पास नगर्नु पीडादायी हो । राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागकिरता विधेयक रोक्ने काम गरियो,” उनले भनिन्, “राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसाबले हेर्नुपर्ने हो तर त्यस्तो भएन ।”
उनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसाबले अघि बढेको आरोप लगाइन् । उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको बताइन् ।
