नेम्वाङले भोटका लागि माधव नेपाल,रवि लामिछाने र राजेन्द्र लिङ्देनलाई भेट्दै

१८ फाल्गुन २०७९, बिहीबार ११:१५

यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार बनेका नेताहरु घरदैलो अभियान तीव्ररुपमा लागेका छन् छन् ।

आठ दलीय गठबन्धन तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको लागि उम्मेदवार रहेका छन् ।घरदैलो अभियान क्रममा आज (बिहीबार) नेम्वाङले दलका केही नेतालाई भेटेर आफूलाई भोट दिन आग्रह गर्ने बताइएको छ ।

नेम्वाङले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर मत माग्ने तयारी गरेका छन् ।

बिहान ११ बजे उनी एकीकृत समाजवादीको कार्यालय पुग्ने उनको सचिवालयले जनाएको छ । नेम्वाङका साथमा एमाले नेताहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ पनि सहभागी हुने बताइएको छ ।

त्यस्तै आजै दिउँसो १ बजे रास्वपाका सभापति रवि लामिछानेलाई पनि भेट्ने उनको योजना छ । त्यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भोट माग्न दिउँसो साढे २ बजे राप्रपा कार्यालय पुग्ने नेम्वाङको सचिवालयले जनाएको छ ।