एमाले सरकारबाट बारिएसंगै नेप्से पनि घट्यो

१७ फाल्गुन २०७९, बुधबार १६:३४

तीन महिनापछि नेप्से परिसूचक दुई हजारको विन्दुमुनि आइपुगेको छ।

सोमबार र मंगलबारको अन्तरदिनको कारोबारमा नेप्से दुई हजार मुनि आइपुगेको भएपनि बजार बन्द हुँदा केही अंक बढेको थियो। तर, बुधबार दुई हजार माथि नै अड्डिने नेप्सेको प्रयास सफल भएन।

बुधबार नेप्से परिसूचक १,९९५.४९ विन्दुमा आइपुगेको छ। २४.४४ अंकले घटेर बजार बन्द भएको हो। तीन महिनापछि नेप्से पुनः दुई हजार विन्दु मुनि आएको हो। मंसिर २२ यता नेप्से दुई हजार विन्दु माथि नै रहिरहेको थियो। नेकपा एमाले सरकारमा रहदासम्म नेप्से दुई हजार मुनि आएको थिएन् तर, एमाले सरकारबाट बाहिरिएसंगै नेप्से पनि घटेको छ ।

बजारमा लाभांश सिजन लगभग सकिएको, बैंकिङ प्रणालीमा पनि तरलता सहज नभइसकेको, लघुवित्त कम्पनीहरूको लाभांशमा पनि राष्ट्र बैंकले थप कडाई गरेका कारण बजारले सकारात्मक उर्जा प्राप्त गर्न सकेको छैन।

मुलुकको बाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार आउन सकेको छैन। दातृ निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले हालै नेपालको अर्थतन्त्र अझै जोखिमबाट बाहिर आइनसकिरहेको बताइरहेका छन्। यिनै विवध कारणले सेयर बजारलाई टेवा पुग्न सकेको छैन।

यद्यपी सेयर लगानीकर्ताहरू भने बजार धेरै तल नओर्लनेमा आशावादी देखिएका छन्। भदौमा निकै समय १९ सय मुनि रहेको नेप्से १८ सय विन्दुभन्दा तल भने ओर्लिएको थिएन। १८ सय विन्दु लगानीकर्ताहरू लागि दरो मनोवैज्ञानिक टेवा बनिरहेको छ।