खेलकुदमा बजेट बढाउने प्रधानमन्त्रीको घोषणा

१६ फाल्गुन २०७९, मंगलवार १६:२२

आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् ।

मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खेलकुदमा बजेट बढाउने बताएका हुन्। उनले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए ।

उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सरकारको तर्फबाट देशका सबै प्रदेशहरुमा, सबै पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए ।

उनले भने, “यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ ।, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।”

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।