कांग्रेस आजसम्मकै सबै भन्दा राम्रो पार्टी बन्दै, देउवालाई दिए स्नेहीले यस्तो सुझाव

१६ फाल्गुन २०७९, मंगलवार १३:४९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा पठाउने मन्त्रीहरुको मापदण्ड बनाउन सकारात्मक देखिएका छन् ।

मापदण्ड बनाएर मात्रै मन्त्री बनाउनुपर्ने सभापति देउवालाई मंगलबार भेट्न पुगेका केन्द्रीय सदस्य प्रकाश स्नेहीले सुझाव देउवालाई दिएका थिए । प्रतिउत्तरमा देउवाले मापदण्ड बनाउन आफू सकारात्मक रहेको सभापतिले बताएको स्नेहीले बताए ।

सभापति देउवाको बोली उद्धृत गर्दै स्नेहीले भने, ‘ठीक छ, उपसभापति र महामन्त्रीहरुसँग सल्लाह गर्छु।’ पार्टीमा गुट नभनि क्षमताको आधारमा मन्त्री बनाउन आफुले सुझाव दिएको स्नेहीले बताए ।

सरकारमा सहभागी हुने मन्त्रीहरुले हरेक तीन महिनामा सुधारका कामहरू सार्वजनिक गर्नुपर्ने मापदण्ड बनाउन सभापतिलाई सुझाव दिएको उनले बताए । ‘जनताका समस्या समाधान गर्न मन्त्रीले के के गरे ? नीतिगत तहमा के सुधार गरे ?’ सभापतिलाई दिएको सुझाव बारे स्नेहीले भने, ‘मन्त्रीका कामको मूल्याकन र अनुगमन गर्न उच्च स्तरीय संयन्त्र बनाउन सभापतिलाई राय दिएको छु । सभापति सकारात्मक हुनुहन्छ ।’