प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री राष्ट्रपति कांग्रेसलाई

१३ फाल्गुन २०७९, शनिबार ०८:०४

शुक्रबार ८ दलको बैठकमा पनि उनी आफैंले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार अहिले पनि प्रचण्डले साढे २ वर्ष सरकार चलाउने समझदारी जस्तै छ । त्यसपछि माधव नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री हुने समझदारी बनेको छ । ‘कार्यकाल साढे २ वर्ष, १ र साढे १ वर्ष हुनसक्छ । यसबारे भोलिका दिनमा पनि छलफल होला’ एक नेता भन्छन्, ‘प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने चाहिं पक्कापक्की भएको छ ।’

यद्यपि नेताहरु औपचारिक रुपमा बोल्न तयार छैनन् । एमाले सरकारमै रहेकाले प्रधानमन्त्रीमा आलोपालो र सरकारमा सहभागिताबारे एजेण्डा बनाएर छलफल नगरेको नेताहरु बताउँछन् । एक नेताका अनुसार राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने शुक्रबारको निर्णयसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ भन्ने साझा बुझाइ छ । ‘भरे भोलि एमालेले समर्थन फिर्ता लिएपछि सरकारबारे खुलेर छलफल हुन्छ’, एक नेताले सुनाए ।

नेताहरुका अनुसार जसपाले उपराष्ट्रपति र माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाउने पक्का जस्तै छ । उपराष्ट्रपतिको चुनाव ३ चैतका लागि तय भएको छ भने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल अर्को वर्ष फागुनमा सकिनेछ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख भने फेरिने छैन । एमालेका घिमिरे सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर उपसभामुख छन् । सभामुख र उपसभामुखलाई हटाउन दुई तिहाइ चाहिन्छ, राप्रपा र एमाले एकठाउँमा उभिनासाथ ८ दलीय गठबन्धनसँग संसदको दुई तिहाइ हुने छैन ।