आखिर ओलीले आशंका गरेजस्तै भयो । अनि कांग्रेसले अघि सारेको रणनीति कामयाब पनि देखियो । सत्ता गठबन्धन गरेको दुई महिना नबित्दै प्रधानमन्त्री प्रचण्ड फरक फर्केर पुरानै समीकरणतर्फ फर्केका छन् ।
ओलीसँगको आधा आधा कार्यकालमा नटिकेर यसपल्ट प्रचण्डले किन कोर्स बदले त ?
प्रधानमन्त्री प्रचण्डले सरकार बनेलगत्तै एमालेसँग अन्तरविरोध सुरु भइसकेको भन्दै आफ्नो अहिलेको निर्णयको बचाउ गर्न खोजे । प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्रीका रुपमा मैले स्वायत्त ढंगले काम गर्ने अवस्था नबन्ने खतरा पैदा भयो । मैले ओलीजीलाई सहकार्यकै बाटोमा हिंडाउन खोजें । तर उहाँ तयार देखिनुभएन । बरु यो प्रचण्डले नेतृत्व गरेको आफ्नो सरकार जस्तो गरी बाहिर लगियो । त्यो उचित थिएन ।’
संसदमा ओलीले पहिलेको संसद विघटन उचित भनी अर्थ्याउन खोजेपछि अब सहकार्य कठिन भयो भन्ने आफूलाई परेको उनले बताए । ओलीले पछिल्लो समय राजावादीहरुसँग हिमचिम बढाएकोमा आफू असन्तुष्ट रहेको भनेर उनलाई बताएको प्रचण्डले सुनाए ।
प्रधानमन्त्रीले यति भन्दाभन्दै पनि आजको उनको कदमले नियन्त्रित अस्थिरताकै पुरानो राजनीतिक दशातिर देशलाई लैजाने हो कि भन्ने आशंका पैदा भएको छ । पछिल्ला कतिपय कूटनीतिक मन्त्रणाहरु समेत यसका लागि सहयोगी बन्न गएको आशंकालाई बल दिने गरी नयाँ राजनीतिक मार्गचित्र तयार भएको छ ।
सम्भवतः अब कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल राष्ट्रपति बन्नेछन् ।
योसँगै राजनीतिका चतुर खेलाडीका रुपमा देखिएका ओलीलाई सत्ता रणनीतिमा धक्का लाग्न गएको छ । अब उनीसँग रास्वपा, राप्रपाजस्ता शक्ति मात्रै साथमा छन् । नयाँ गठबन्धन तयार भएपछि सम्भवतः एमालेले सरकार छाड्नेछ । यसको असर प्रदेशका सरकारहरुमा समेत पर्न सक्छ ।
एमालेले यसलाई राजनीतिक अस्थिरताको सुरुवात भनी अर्थ्याएको छ ।
सबैभन्दा मुख्य कुरा यसले विगतमा एमालेमाथि सहमति पालना नभएको भनी आरोप लगाएका प्रचण्डमाथि आफ्नो आजको निर्णयको औचित्य प्रमाणित गर्ने दबाब पर्नेछ ।
