राष्ट्रपति को हुने र कुन पार्टीले अघि सारेका उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयले नेपालको राजनीति तातेको छ । यो तताईमा केही अस्वाभाविक मामिला पनि देखिएका छन् । भन्नका लागि राष्ट्रपति पद आलंकारिक भनिएको छ । तर यही आलंकारिक राष्ट्रपतिको मामिलाले नेकपा ब्युँतिने, कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँतिने, नेकपा एमाले र एसबीच एकीकरण हुनेसम्मका चर्चा चलेका छन् ।
नेकपा एमालेको समर्थनले सरकार बनाउने प्रधानमन्त्रीले कांग्रेस तिरको मोह त्याग्न नसक्दा यो उत्पात मच्चिएको एकाथरीको विश्लेषण छ । अर्कोथरीले सरकार बन्नै नपाई भत्काउने खेल कसैले खेलेको र त्यसका प्यादाका रुपमा प्रधानमन्त्री प्रयोग भएको पनि बताएका छन् ।
देश र जनता अनेक प्रकारका समस्यासँग जुधिरहेका छन् । नागरिकले गरिखाने बाटो भेटेका छैनन् । रोग,भोक र शोकमा देश छ । यस्तो देशका प्रधानमन्त्री चाहिँ तमासा गरेर हिँडिरहेका छन् – यो कोणबाट पनि कुराकानी हुने गर्छ ।
अहिलेको यो राजनीतिक उत्पातलाई विश्लेषकहरुले कसरी हेरिरहेका छन् ? भन्ने बुझ्न छोटो कुराकानी गरिएको छ– राजनीतिक विश्लेषक अर्जुन प्रसाईंसँग ।
