सन्दीपलाई अदालतले रोक्यो ​यूएई जान, खेलाडी भन्छन् सन्दीपको निकै खाँचो छ

११ फाल्गुन २०७९, बिहीबार १८:४०

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन्। ​यूएईमा हुन लागेको आईसीसी विश्वकप लिग-श्रृंखलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने यूएई जाने टिममा परेका छैनन्। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रोहितले सन्दीप टोलीको महत्वपूर्ण बलर भएको र ४ खेलमा १३ विकेट लिँदा टोलीलाई सहज भएको बताए।

सन्दीपको अनुपस्थितिमा टोलीलाई धेरै खाँचो पर्ने तर उनको स्थानलाई अन्य खेलाडीले लिनुपर्ने बताए। नेपाली राष्ट्रिय क्रिकेट टिम शनिवार यूएई भ्रमण गर्दैछ । यूएई भ्रमणको क्रममा नेपालले आयोजक यूएई र पपुवान्युगिनीसँगै दुई खेलको क्रिकोणात्मक श्रृंखला खेल्ने तालिका छ ।

सन्दीपलाई अदालतले विदेश जान रोक लगाएको छ । त्यसैले नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई टिममा समावेश गरेको छैन । भ्रमणको क्रममा नेपालले यूएईको भूमिमा चार खेल खेल्नेछ भने लगत्तै नेपाल फर्किएर थप उनै टोलीसँग थप चार खेल खेल्नेछ । यूएई भ्रमण अन्तगर्तत नेपालले पहिलो खेल २७ तारिखमा पपुवान्युगिनिसँग खेल्नेछ भने दोस्रो खेल २ मार्चमा यूएईसँग हुनेछ । यस्तै तेस्रो खेल ३ मार्चमा पपुवा न्युगिनीसँग पुनः हुनेछ भने ६ मार्चमा घरेलु टोली यूएईसँग दोस्रो खेले खेलेर स्वदेश फकिर्नेछ ।

लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तीमा ५ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।

नेपाली टोली रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम ९मौसम० ढकाल रहेका छन् ।