अक्षय कुमारले सेल्फि लिएर गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम राखे

११ फाल्गुन २०७९, बिहीबार १४:०५

एउटा नौलो कीर्तिमान बलिउड अभिनेता अक्षय कुमारले राखेका छन् । प्रदर्शनको तयारीमा रहेको आफ्नो फिल्म ‘सेल्फी’ प्रदर्शनमा आउनुअघि उनले तीन मिनेट भित्रमा सबैभन्दा बढी सेल्फि लिएर गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम लेखाउन सफल भएका छन् ।
योसंगै बलिउडका यी लोकप्रिय अभिनेताले एउटा नयाँ रेकर्ड आफ्नो नाममा पार्न सफल भएका हुन् । अक्षय कुमारले फेबु्रअरी २२ अर्थात हिजो बुधवारका दिनमा मुम्बईमा आयोजित एउटा फ्यान मीट एण्ड ग्रीट कार्यक्रममा १८४ वटा सेल्फी क्लिक गरेका छन् ।

अक्षय कुमारले उक्त अवसरका केहि झलकहरु पनि पोस्ट गर्नुको साथै गिनीज बुक अफ वर्ल्ड रेकर्डको पनि तस्बिर खिचाएका छन् । उनले इन्स्टाग्राममा तस्बिर र भिडियो शेयर गरेका छन् ।

यसका साथै उनले आफ्ना फ्यानहरुसंगको भेट र अभिवादनको झलक शेयर गर्दै लेखेका छन्– ‘मैले अहिलेसम्म जे हासिल गरेको छु, ती सबै मेरा प्रशंसकको निस्वार्थ प्रेमका कारण हो । जीवनमा जहाँ रहे पनि सम्झिरहने छु । मेरा प्रशंसकका कारणले नै मैले ३ मिनेटमा सबैभन्दा बढी सेल्फी लिएर गिनीज वर्ल्ड रेकर्ड बनाउन सफल भएको हो । तपाईँहरु सबैलाई धन्यवाद । यो अति नै विशेष छ, यो मेरा लागि अविस्मरणीय हुनेछ । अब सेल्फी नै सेल्फी हुनेछ । तपाईँहरु सबैसंग शुक्रबार सिनेमा हलमा भेट हुनेछ ।’ एजेन्सी