सरकारले ‘हिंसा दिवस’लाई राष्ट्रिय दिवस भनेर मनाएको भन्दै ओलीले गरे यस्तो टिप्पणी

११ फाल्गुन २०७९, बिहीबार १३:१७

सरकारले ‘हिंसा दिवस’लाई राष्ट्रिय दिवस भनेर मनाएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले बिहीबार आफ्नो निवासमा ‘विश्वशान्ति प्रार्थना’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो टिप्पणी गरेका हुन्। “हिंसा टुंगिएको थियो, तर हिंसाको धङधङ्ती अझै पनि छ मान्छेहरूका क्रियाकलापमा, व्यवहारमा,अहिलेकै सरकारले पनि ‘हिंसा दिवस’लाई राष्ट्रिय दिवस भनेर मनायो, अध्यक्ष ओलीले भने ।”

सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’का रुपमा सार्वजनिक बिदा दिएको थियो। २०५२ फागुन १ गते तत्कालीन माओवादीले सशस्त्र विद्रोह शुरू गरेको थियो। त्यसको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्ले ‘जनयुद्ध दिवस’का रुपमा सार्वजनिक बिदा दिएको थियो।

मन्त्रिपरिषद्ले सार्वजनिक बिदा दिने निर्णय गर्दा कुनै प्रतिक्रिया नदिएका एमाले अध्यक्ष ओलीले अहिले आएर त्यसलाई गलत भनेका हुन्। एमाले पनि सरकारमा सहभागी छ।

अध्यक्ष ओलीले भने, “त्यसलाई राष्ट्रिय दिवस भनेर मनाउने गरी क्यालेन्डरमा राख्ने दुःखद निर्णय गर्‍यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृति नछुटेको देखिन्छ। जुन कुरो सहि होइन।”

सरकारले निर्णय गर्दा आफूलाई कुनै थाहा नदिएको ओलीको भनाइ थियो। “सरकारले किन गर्‍यो, आकस्मिक रुपमा किन गर्नुपर्‍यो ?,” ओलीले प्रश्न गरे, “आफैले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुप¥यो ? मैले पनि बुझेको छैन।”