राष्ट्र बैंकको नयाँ नीति, लघुवित्त संचालकहरु आतंकित

१० फाल्गुन २०७९, बुधबार १४:०९

राष्ट्र बैंकले नयां नीति ल्याउन थालेपछि लघुवित्त संचालकहरु आतंकित हुन थालेका छन् । लघुवित्तहरुले गाउं गाउंमा गएर निम्न आय भएका जनतालाई सताउन थालेपछि राष्ट्र बैंकले उनीहरुलाई नियमन गर्ने नीति ल्याउने तयारी गरेको हो । लघुवित्त वित्तीय संस्थामा देखिएको समस्यालाई ध्यानमा राख्दै राष्ट्र बैंकले लघुवित्त कस्ने नीति ल्याउने तयारी थालेको छ।

लघुवित्त सञ्चालनको लागि राष्ट्र बैंकको  छुट्टै नीति भए पनि पछिल्लो समय लघुवित्त ट्रयाक भन्दा बाहिर गएको नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवातीप्रसाद नेपालले बताएका छन् । ‘लघुवित्त संस्था सञ्चालन र कार्यसम्पादनका बारेमा छुट्टै गाइडलाईन बनेको छ’, उनले भने, ‘तर, कसैले त्यसको पालना गरेको पाइएन । त्यसैले अब छिट्टै लघुवित्त संस्थालाई कडाई गर्ने निर्देशन जारी हुन्छ ।’

नेपालका अनुसार एउटै व्यक्तिले दुई वा सो भन्दा धेरै लघुवित्तबाट ऋण लिएकै कारणले लघुवित्तको सिस्टममा समस्या देखिएको हो । तर, सो प्रवृत्तिको अन्त्य गर्न राष्ट्र बैंकले धेरै लघुवित्तबाट ऋण लिन नपाउने गरी व्यवस्था गर्न लागेको समेत नेपालले जनाएका छन् ।

त्यस्तै, सेवा शुल्कका नाममा पनि लघुवित्तले एक वर्षमा १.५ प्रतिशतभन्दा धेरै शुल्क लिन नपाउने र १५ प्रतिशतभन्दा बढीको ऋणको ब्याज लिए राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने छ।