प्रचण्ड र ओलीबीच २ घण्टासम्म यस्तो कुरा भयो

१० फाल्गुन २०७९, बुधबार १३:४३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति निर्वाचनलाई लिएर बालुवाटारमा दुई घण्टा लामो वार्ता भएको छ।

आज बिहान १०ः४० देखि सुरु भएको वार्ता दुई घण्टासम्म चलेको थियो। नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारको टुंगो गर्ने जिम्मा प्रचण्डलाई दिएको सन्दर्भमा दुई नेताबीच वार्ता भएको हो।

पुस १० को सहमतिअनुसार राष्ट्रपति आफ्नै दलबाट हुनुपर्ने अडानमा रहेका ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि मिलाएर लानुपर्ने पक्षमा रहेका प्रचण्डबीच अझै कुरो मिल्न सकेको छैन।

गत पुस २६ गते आफूलाई विश्वासको मत दिएपछि राष्ट्रपतिमा कांग्रेसलाई पनि समेटेर लैजाने प्रचण्डको अडानले सत्ता गठबन्धन दलहरुबीच खटपट बढिरहेको छ।

यस्तोमा ओलीले बालुवाटार पुगेर प्रचण्डसँग संवाद गरेका हुन्। प्रचण्डको अडानले एमालेबाट राष्ट्रपति नहुने सम्भावना भइरहँदा ओली विकल्पको खोजीमा लागिरहेका छन्।

उनले एमालेबाटै फुटेर गएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि राष्ट्रपतिमा अघि बढाउने चर्चा राजनीतिक वृत्तमा छ। तर उता कांग्रेसले भने राष्ट्रपतिमा आफूलाई सघाए प्रचण्डलाई पाँचै वर्षका लागि प्रधानमन्त्रीमा समर्थन गर्ने औपचारिक प्रस्ताव गरिसकेको छ।