माधव नेपाल गठबन्धन भत्काउने प्रयासमा

७ फाल्गुन २०७९, आईतवार १६:०३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले कीर्तिपुरमा आयोजित अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै नयाँ गर्छौं भनेर आएको पार्टीले झन खराब देखिएको बताएका हुन्।

“घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे, जनताले। पहिले त के के न गर्ला भनेर लागी रहेको थियो,” राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंगित गर्दै अध्यक्ष नेपालले भने, “पूरानो पार्टीबाट हुँदैन, नयाँ चाहिन्छ, पुरानोहरूलाई छोडौं भन्नेहरू घाँडो भए।”

राष्ट्रिय स्वतन्त्र पार्टीकै कारण सत्तारुढ गठबन्धन पनि संकटमा परेको उनको भनाइ थियो। “अदालतको आदेशले पदबाट हटे। पदका लागि आशक्त भएर त्यही पद चाहिन्छ भनेर हैरान पारेपछि गठबन्धन पनि संकटमा परेको छ,” नेपालले भने, “कुन दिन गठबन्धन भत्किने हो ठेगान छैन।”

परस्पर विरोध विचारधाराका पार्टीको गठबन्धन भएकाले छिट्टै भत्किने नेपालको आकलन थियो। “गठबन्धनमा राजा ल्याउनुपर्छ भन्ने प्रतिगामी छन्, संघीयता विरोधी पनि छन्। वामपन्थीहरू पनि छन्। संविधान विरोध पनि छन्, संविधानका रक्षक पनि छन्”, अध्यक्ष नेपालले भने, “राष्ट्रपतिको निर्वाचनबाट गठबन्धनको टुंगो लाग्छ, राजनीतिले नयाँ ‘कोर्स’ लिन्छ।”

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते तय भएको छ। त्यसअघि फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ।