मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका छन् ।
नेपाली जनताको एकताबद्ध संघर्षबाट निरंकुश जहाँनिया राणा शासनको अन्त्य भएको दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ विन्दुका रूपमा स्थापित गरेको प्रजातन्त्र दिवसमा अवसरमा शुभकामना दिँदै ओलीले बताए ।
‘समाज, राजनीति र शासन प्रणालीमा जहाँनिया निरंकुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको विन्दुका रूपमा हामी यस दिनलाई स्मरण गर्दछौँ’, सन्देशमा भनिएको छ,‘संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचनबाट बनेको हाम्रो पार्टी नेकपा (एमाले) को सरकारले मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो ।’
अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाउँदै प्रजातन्त्र प्राप्त भएको दिनले जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधारभूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर भएको ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्य सदुपयोग गरेको र संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा सरकारबाट बाहिर पुर्याइएपछि अवरुद्ध हुन पुगेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानलाई अझ सबलरूपमा अगाडि बढाउन चाहेको ओलीले प्रष्ट्याएका छन् ।
