नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै नेतृत्वमा राष्ट्रपति देखिने दाबी गरेका छन्।
महामन्त्री शर्माले आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गरेका हुन्।
निर्वाचनका समयमा रहेको गठबन्धन बमोजिमकै दलहरुबीच राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुने उनले दाबी गरे। पुस १० गतेपछि निर्वाचन बेलाकै गठबन्धन व्युँतिने संकेत गर्दै महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पदमा कांग्रेस नै अग्रसर हुनु स्वभाविक रहेको बताए।
गठबन्धन ब्युउँताउन आवश्यक परेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्ने गरी भएपनि कांग्रेसले सहमति जनाउन सक्ने बताए। उनले कांग्रेसबाट राष्ट्रपति उम्मेदवारीका रुपमा सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मनबहादुर विश्वकर्मासहितको चर्चा भइरहेको बताए।
