नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी रिहा

७ फाल्गुन २०७९, आईतवार १०:५९

आज आइतबार विहान नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी कैलाली कारागारबाट रिहा भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई स्वागत गर्न सो दलका अध्यक्ष रञ्जिता चौधरीसहित नेता कार्यकर्ता स्वागत गर्न कैलाली कारागार गएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन्। सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । उनी पक्रउ परेपछि संघीय र प्रदेश सरकार समस्यामा पर्न थालेपछि सरकारले सांसद चौधरीलाई रिहाइका लागि सिफारिस गरेको थियो ।