निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत र मतदान स्थल तय गरेको छ । आयोगले भोलिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
राष्ट्रपतिको चुनावका लागि महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । निर्वाचन अधिकृत पौडेल पाटन उच्च अदालतका न्यायाधीश हुन्। राष्ट्रपतिको निर्वाचन तालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि आउँदो बुधवार १० गते मतदाता नामावली प्रकाशन हुनेछ।
नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई आयोगले मतदान स्थल निर्धारण गरेको छ । मतदान स्थलमा दुई वटा केन्द्र रहने छन् । सहायक प्रवक्ता भुसालले राष्ट्रपति चुनावमा मतदान गर्न योग्य मतदाताको सूची सङ्घीय संसद् र सातवटै प्रदेशको प्रदेश सभा सचिवालयबाट प्राप्त भएको जानकारी दिए। तालिका अनुसार आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ ।
मतदानका लागि आउँदाे १३ गते मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ। सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ ।
