उपराष्ट्रपति नन्दबहादुर पुनले पुनले राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुति दिनुहुने महान वीर वीरगङ्नाहरूलाई स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन् । पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका क्रान्ति तथा आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई अपिल गरेका छन् ।
“विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपलब्धिहरू संस्थागत भइसकेका छन, यी उपलब्धिहरूको संरक्षण तथा रक्षा सबै नेपालीको कर्तव्य हो”, सन्देशमा भनिएको छ ।
प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उपराष्ट्रपति पुनको अपेक्षा छ । उपराष्ट्रपति पुनले फागुन ७ गते ऐतिहासिक जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताले निरंकश राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा सम्झिँदै गर्दा २००७ सालको आजकै दिन सार्वभौम नेपाली जनताको अजेय शक्तिबाट राणाशासन पराजित भएर प्रजातन्त्र स्थापना भएको स्मरण गरेका छन् ।
उनले भनेका छन्, “नेपालमा युगान्तकारी परिवर्तनको यात्रा शुभारम्भको दिन राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ को अवसरमा सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”
