‘फूलबारी’ आजदेखि प्रदर्शनमा

५ फाल्गुन २०७९, शुक्रबार १२:३९

पछिल्लो समयका लोकप्रिय अभिनेताहरु विपिन कार्की र दयाहाङ राई लगायतका कलाकारहरुको अभिन्य रहेको नेपाली चलचित्र ‘फूलबारी’ आजदेखि प्रदर्शनमा आएको छ ।

सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईको पनि अभिनय रहेको छ ।

यस चलचित्रमा अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको छ । सञ्चयकोषमार्फत् पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ ।

यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।