स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिको राष्ट्रिय सम्मेलन २०८० वैशाख १८ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बिहीबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको छ ।
स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बेरोजगारीविरुद्ध रोजगारी, भ्रष्टाचारका विरुद्ध सदाचार, कुशासनविरुद्ध सुशासन, अनेकताविरुद्ध एकतासहितको उद्देश्यसाथ सम्मेलन गर्ने जनाएको छ । देशभरका विभिन्न ३० जिल्लामा समिति गठन भइसकेको र बाँकी जिल्लामा क्रमशः गर्दै जाने स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले जनाएको छ । राष्ट्रिय सम्मेलन आयोजक मूल समितिका संयोजकको अध्यक्षतामा सचिवालय बैठकले विभिन्न जिल्लाका अभियन्ताबाट आएको सुझावका आधारमा फागुन ५ देखि ७ गतेसम्म सम्मेलन आयोजना गर्ने भनिएको थियो । तर तयारी नपुगेको भन्दै सम्मेलन आगामी वैशाखमा लगेको हो ।
सम्मेलन मुल आयोजक समितिका संयोजक डा. नन्दप्रसाद काप्रीले देशभरीका संगठनलाई एकतावद्ध बनाएर काम गर्ने बताए । अधिवक्ता स्वागत नेपालले सांसद्हरु खरिद बिक्रीमा रेहको बताए । बिदेशीले मनलागेको बेला खरिद बिक्री गर्नेगरेको र सरकार ढल्ने गरेको उनको भनाइ छ ।
