अधिकृत दानबहादुर केसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

५ फाल्गुन २०७९, शुक्रबार ०५:४७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा २ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको वैध स्रोत खुलाउन नसकेको भन्दै स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिमाना र कैद तथा अवैध सम्पत्तिबाट बढेर बढाइएको सम्पत्ति जफत गर्न मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

केसीले पत्नी सुशीला पण्डितको नाममा समेत अकुत सम्पत्ति राखेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार केसीले पत्नी पण्डितका नाममा घरजग्गा खरिद गरेको तथा बैंक खातामा समेत रकम मौज्दात राखेको पाइएको छ । त्यसरी पत्नीको नाममा समेत अकुत सम्पत्ति राखेको पाइएपछि अख्तियारले पण्डितविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले केसी सरकारी सेवामा प्रवेश गरेयताको सम्पत्ति जाँचबुझ गर्दा वैध स्रोत नखुलेको सम्पत्तिउपर बिगो, जरिमाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको जानकारी दिए ।