सांसद भण्डारी अपडेट: प्रहरीको प्रारम्भिक अध्ययन यस्तो

४ फाल्गुन २०७९, बिहीबार १५:२६

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर पड्केर आगलागी नभएको प्रहरीले बताएको छ । ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अध्ययन छ ।

काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले ग्यास लिक भएर आगलागी भएको तर सिलिन्डर विस्फोट भएको भन्ने जानकारी नभएको बताए। ग्यास लिक भएर आमाले बोलाएपछि गएर बत्ती बालेर हेर्दा आगलागी भएको भन्ने आशङ्का प्रहरीको छ । रिजाल भने, ‘ग्यास लिक भएपछि आमाले छोरालाई बोलाउनुभयो । छोरा आएर बिजुली बत्ती बाल्दा स्पार्कु भएर आगलागी भएको हो कि भन्ने आशङ्का छ।’

आगलागी हुँदा आमा बढी घाइते हुनुको कारण भने अहिले नै भन्न नसकिने रिजालले बताए । उनी भन्छन्, ‘आगलागी हुँदा को, कहाँ, के कति हुन्छ भन्ने कुरा पछि अनुसन्धानबाट खुल्ला । अहिलेलाई यसै भन्न सकिँदैन । को किन बढी जल्यो, को कम जल्यो अहिले भन्न सकिँदैन ।’ यो सबै विषय अहिले अनुमानको रूपमा रहेको र अनुसन्धानपछि खुल्ने पनि खनालले बताए।

काठमाण्डौको बुद्धनगरमा रहेको घरमा बुधवार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ ।