राष्ट्रपतिको विषयमा एमाले र माओवादीबीच भएको सहमति पालना नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकेत गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने अडान राखेपनि प्रचण्डले बिहीबार बिहान बालुवाटारमा त्यसलाई अस्वीकार गरेका हुन्। कांग्रेसलाई समेत लिएर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने प्रचण्डको अडानपछि एमाले अध्यक्ष ओली सशंकित बनेका छन्।
बालकोटमा पुस १० मा प्रचण्ड प्रधानमन्त्री हुने र राष्ट्रपति एमालेले लिने, सभामुख आधा–आधा कार्यकाल लिने मुख्य सहमति भएको थियो। जस अनुरूप एमालेबाट देवराज घिमिरे सभामुख भएका छन्। प्रधानमन्त्री र सभामुखमा सम्झौताअनुसार परिणाम पनि आइसकेका छन्। तर, अब राष्ट्रपतिका विषयमा भएको सम्झौता के हुन्छ भन्ने चर्चाको विषय बनेको छ।
बालुवाटार स्रोतका अनुसार आजको बैठकमा ओलीसमक्ष प्रचण्डले राष्ट्रिय सहमति बनाएर राष्ट्रपति निर्वाचनमा जानुपर्ने तर्क गरेका छन्। प्रधानमन्त्री प्रचण्डले ओलीलाई भेट्नु अगाडि आज बिहान पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र रास्वपाका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरेका छन्।
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरेको छ।
