काठमाडौं महानगरपालिकाले ७ महिनादेखि स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । फोहोर व्यवस्थापन कार्य प्रभावकारी बनाउन कामपाले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहोर वर्गीकरणको काम थाल्यो ।
कामपाको ३२ वटै वडामा अझै फोहोरको वर्गीकरण हुन सकेको छैन । शुरूमा केही दिन नगरवासीले घरबाट नै वर्गीकरण गरी ल्याउने गरे पनि अहिले सबै किसिमको फोहोर एउटै भाँडोमा राखेर व्यवस्थापनको काम भइरहेको छ ।कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहोर वर्गीकरण गरी ल्याइन्छ । केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ ।
प्रमुख श्रेष्ठले भने, ‘कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे कामपाले केन्द्र सरकासँग छलफल गरिरहेको छ । स्थान प्राप्त हुनेबित्तिकै स्रोतमा नै फोहोरको वर्गीकरण गरी प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ । ’परीक्षणका रूपमा यसै हप्तादेखि टेकु ट्रान्सफर स्टेसनमा नै कुहिने फोरलाई मल बनाउने काम शुरू हुन्छ । ‘यससँगै उपत्यकाको अन्य केही स्थान र काठमाडौं उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थान बञ्चरेडाँडामा पनि कुहिने फोहोर अलग राखेर मल बनाउने काम शुरू गर्ने तयारी कामपाको छ,’ प्रमुख श्रेष्ठले भने ।
